हेटौँडा । मकवानपुरको हेटौँडामा आज सवारी दुर्घटना हुँदा एक जनाको मृतयु भएको छ । पूर्व–पश्चिम सडकखण्ड अन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–१९, सान्नानटारस्थित टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार, दिउँसो करिब १५ः२० बजेको समयमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको लु.३४ प ४६७५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०३–००१ ख ११७९ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक हाल रुपन्देही बस्ने अन्दाजी २८ वर्षीय जगदिश थारुलाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
त्यसैगरी, मोटरसाइकलको पछाडि सवार दाङको राप्ती गाउँपालिका–६ बस्ने अन्दाजी २२ वर्षीय आदित्य चौधरी घाइते भएका छन् । उनको दाहिने हात र आँखा मुनि चोट लागेको छ । हाल उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक बोगटीले बताए ।
ठक्करपछि टिपर हेटौँडा बजारतर्फ फरार भएको थियो । फरार रहेका टिपर, टिपर चालक हेटौँडा उपमहानगरपालिका–१५ भोर्ले बस्ने अन्दाजी २६ वर्षीय रोहित तामाङलाई प्रहरी चौकी बसामाडीले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















