मकवानपुर । हेटौंडा–६ मा क्यान्सर न्यूनीकरण तथा विषादीरहित बाली उत्पादनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम नेपाल अर्बुद रोग निवारण संस्था मकवानपुर शाखाको आयोजना, हेटौंडा उपमहानगरपालिकाको सहकार्य तथा गरीबी निवारण बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा भएको हो।
कार्यक्रममा वडा नं। ६ का अध्यक्ष विष्णुबहादुर दाहालले रासायनिक विषादीको सुरक्षित प्रयोग तथा जैविक विकल्प अपनाउन आग्रह गरे। संस्थाका केन्द्रीय उपमहासचिव प्रकाश खतिवडाले क्यान्सरका कारण, लक्षण, बच्ने उपाय तथा विषादीको जोखिमबारे जानकारी दिएका थिए।
कृषि प्राविधिक गणेश खड्काले विषादीको सुरक्षित प्रयोग, न्यूनीकरणका उपाय र सुरक्षित कृषि अभ्यासबारे सहजीकरण गरेका थिए। सहभागीहरूले अबदेखि जैविक विषादी प्रयोग गर्ने तथा रासायनिक विषादी प्रयोग गर्दा सुरक्षा मापदण्ड पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा स्वस्थ खाना, विषादीरहित खेती र स्वस्थ जीवनशैलीमार्फत क्यान्सरबाट बच्न सकिने सन्देश दिइएको थियो।















