बागमती सरकारद्वारा मनसुनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि ५ करोड ४० लाख रुपैयाँ बजेट निकासा

हेटौँडा । बागमती प्रदेश सरकारले मनसुनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि ५ करोड ४० लाख रुपैयाँ बजेट निकासा गरेको छ । शुक्रबार, शनिबार र आइतबारको वर्षाका कारण उत्पन्न विपद्को व्यवस्थापनलाई लक्षित गरेर स्थानीय तहहरुलाई उक्त रकमको बजेट उपलब्ध गराइएको हो ।

मनसुनजन्य विपद्का घटनाहरुको जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि प्रदेश सरकारले विभिन्न मन्त्रालय र सुरक्षा निकाय सम्मिलित युनिफाइड टिम गठन गरेर प्रतिकार्यलाई प्रभावकारी बनाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको उक्त युनिफाइड टिमको बैठकले खोज, उद्दार तथा राहतका लागि तत्काल आवश्यक कार्य गर्न दिएको निर्देशन दिएनुसार विपद् व्यवस्थापनका लागि उपत्यका बाहेकका १० जिल्लामा नेपाल प्रहरीबाट करिब १ हजार र सशस्त्र प्रहरीबाट ४०० जना जनशक्ति परिचालन गरिएको मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख सुरेश खनालले बताए ।

उनका अनुसार प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकको निर्णय अनुसार २१ वटा स्थानीय तहलाई पूर्वतयारीका लागि २ करोड १० लाख र जोखिमयुक्त क्षेत्र संरक्षणका लागि १६ वटा स्थानीय तहलाई २ करोड ६५ लाख रुपैयाँ प्रदान गर्ने गरेको हो ।

मन्त्रालयको विवरण अनुसार सो अवधिमा भएको विपद्का घटनाहरुबाट १६२ परिवार प्रभावित भएको महाशाखा प्रमुख खनालले बताए । प्रदेशको काभ्रे जिल्लामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने रसुवामा बाढीका कारण ४ जना बेपत्ता भएका छन् । यस्तै, ललितपुरमा पहिरोमा परी २ जना र मकवानपुरमा चट्याङ लागेर १ जना घाइते भएका छन् । विपद्का कारण अनुमानित ४ लाख ५० हजार बराबरको आर्थिक क्षति भएको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.