हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रबार १० औं संविधान दिवस भव्य रुपमा मनाइएको छ । संविधान दिवसको अवसरमा बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रांगणमा विशेष कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवम् प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सभाध्यक्षतामा भएको हो ।
उक्त अवसरमा प्रदेश प्रमुख देवकोटाले संविधानले ल्याएको लोकतान्त्रिक मूल्य र जनताको अधिकारलाई संरक्षण गर्दै समृद्ध नेपाल निर्माणमा सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले शहिदको बलिदानलाई सम्मान गर्ने जिम्मेवारी हाम्रो काँधमा रहेको उल्लेख गरे ।

त्यसैगरी, मुख्यमन्त्री बानियाँले संविधानले समानता, मौलिक अधिकार, सामाजिक न्याय र सुशासनलाई मार्गदर्शन गरेको बताउँदै यसको कार्यान्वयनमा प्रदेश सरकारले जिम्मेवारीपूर्वक काम गरिरहेको जानकारी दिए ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्य, उच्च पदस्थ कर्मचारी, सुरक्षाङ्गका प्रतिनिधि, राजनीतिक दलका नेता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

यस्तै, नेपाली कांग्रेस मकवानपुरले पनि पार्टी कार्यालयमा नेपाली झण्डा राखेर संविधान दिवस मनाएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर २ स्थित काँग्रेस पार्टी कार्यालयमा नेपालको राष्ट्रिय झण्डा राखे १० औं संविधान दिवस मनाइएको हो ।

काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले पार्टी कार्यालयमा झण्डा राखेका थिए । उक्त झण्डा कार्यक्रमका बिच तरुण दल मकवानपुरको तर्फबाट काँग्रेस नेता तथा तरुण दलका केन्द्रिय सदस्य राजेश भेट्वालले मुख्यमन्त्री समेत रहेका बानियाँलाई नेपाली झण्डा हस्तान्तरण गरेको थियो । कार्यक्रम नेपाली काँंग्रेस मकवानपुर सभापति तथा मुख्यमन्त्री बानियाँका राजनीति सल्लाहकार बुद्ध लामाको सभाध्यक्षतामा भएको थियो ।
यसैगरी, सो अवसरमा विभिन्न पार्टी, संघसंस्था, भातृ संगठनले पनि विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ ।

















