हेटौँडा । बागमती प्रदेशका नवनियुक्त तीन मन्त्रीहरूको शपथ आज हुने भनिएको शपथ पनि स्थगित भएको छ । आज दिउँसो १ बजे हुने भनिएको शपथ कार्यक्रम प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्यमा समस्या आएर काठमाडौं गएकोले स्थगित गरिएको हो ।
प्रदेश प्रमुखको कार्यालयले कार्यालय एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सो कार्यक्रम स्थगित गरिएको जानकारी गराएको हो ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘‘बागमती प्रदेश सरकारका नव नियुक्त माननीय मन्त्रीज्यूहरुको शपथ ग्रहण समारोह मिति २०८२ श्रावण १५ गते बिहिबार दिनको ०१ः०० बजेको लागि तोकिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा आकस्मिक समस्या आएपछि उपचारको आज बिहानै काठमाडौं प्रस्थान गर्नु भएको हुँदा माननीय प्रदेश प्रमुखज्यूको निर्देशनअनुसार अर्को सूचना प्रकाशन नभएसम्मको लागि शपथ ग्रहण कार्यक्रम हाललाई स्थगन गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’’
प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवन, धादिङ र गोरखाका ३ जनालाई मन्त्री नियुक्त गरेका छन् । हिजो बुधबार मन्त्रीको नियुक्तिको पत्रसहित प्रदेश प्रमुख कार्यालय पुगेका मुख्यमन्त्री लामालाई तत्काल उक्त काम नगर्न एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले रोकेका थिए ।
सोही अनुसार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले पनि संसदीय दलको नेता चयनको प्रक्रिया प्रभावित हुने भन्दै शपथ ग्रहण कार्यक्रम स्थगितको प्रस्ताव गरेका थिए । मुख्यमन्त्री लामाले रिक्त ५ मन्त्रालय मध्ये ३ वटामा मन्त्री नियुक्त गरेर बुधबार बिहान ९ बजे शपथका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।
उनले चितवनकी माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय, गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय र धादिङका गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने गरी प्रदेश प्रमुखसमक्ष पत्राचार गरेका छन् ।















