हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । हेटौँडामा योग शिविरको आयोजना गरी योग दिवस मनाइएको हो ।
नेपाल भारत विश्व मैत्री संघ, नेपाल भारत मैत्री संघ हेटौँडा, डायनेमिक पब्लिक लाइब्रेरी र पतञ्जली योग समिति मकवानपुरको संयुक्त आयोजना तथा भारतीय महावाणिज्य दूतावासको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
भारतीय महावाणिज्य दूतावास, वीरगंजको संयोजनमा हेटौँडाको रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
सो क्रममा बोल्दै मुख्यम्नत्री लामाले योगले मानिसलाई शारीरिक, मानसिक र आत्मिक रुपमा सबल बनाउने बताउँदै नागरिकलाई दैनिक योग अभ्यास गर्न आग्रह गरे । उक्त कार्यक्रममा भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले योगलाई सम्पूर्ण मानव जातिको स्वास्थ्यका लागि अत्यन्तै महत्वपूर्ण साधनको रूपमा उल्लेख गर्दै उनले योगले व्यक्तिको समग्र कल्याणमा टेवा पुर्याउने धारणा व्यक्त गरे ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, समाजसेवी, नागरिक समाजका प्रतिनिधिहरू र स्थानीय बासिन्दासहित करिब २ सय जना सहभागी थिए ।
सन २०१४ मा संयुक्त राष्ट्रसंघको महासभाबाट अन्तर्राष्ट्रिय योग दिवस मनाउन घोषणा गरिएको हो । यस वर्षको योग दिवसको नारा ‘एक पृथ्वी, एक स्वास्थ्यका लागि योगको महत्व’ तय गरिएको थियो ।


















