हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा चौथो संस्करणको उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । कैलाश गाउँपालिका ३ स्थित भवानी माध्यमिक विद्यालयको खेल मैदानमा शुक्रबारबाट प्रतियोगिता सुरु भएको हो ।
कैलाश खेलकुद विकास समितिका अध्यक्ष मोहन वाइवाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । उद्घाटनमा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, ७ नम्बर वडा अध्यक्ष उदासकुमार भोेलन, ९ का अध्यक्ष भुवनसिं घलान, १० का अध्यक्ष सूर्यबहादुर ब्लोन, प्रमुख रेफ्री विनोद श्रेष्ठ, भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालचन्द्र मल्ललगायतको आतिथ्यता रहेको थियो ।
उद्घाटन खेलमा साविक विजेता वडा नम्बर ५ ले ९ लाई सोझो सेटमा हराउँदै विजयी यात्रा सुरुवात गरेको छ । ५ ले ९ लाई २५–२१ र २५–१८ को सेटमा पराजित गरेको हो । शुक्रबारै भएको वडा नम्बर ७ र ८ बीचको खेलमा ८ नम्बर विजयी भएको छ । ८ ले ७ लाई २६–२४, २०–२५ र १५–११ को सेटमा हराएको हो ।
यस्तै ८ ले १० नम्बर वडालाई १९–२५, २५–२२, १६–१४ को सेटमा हराएको छ । प्रतियोगितामा गाउँपालिकाका ९ वटा वडाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । लिगकम नकआउटको आधारमा प्रतियोगिता सञ्चालन भएको हो ।
गाउँपालिकामा खेलकुदको विकास, युवाहरूबीच आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।















