हेटौँडा । छिमेकी मुलूक भारतको सिक्किममा हुन लागेको १८ औं एल.डी काजी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने हेटौँडा फुटबल एकेडेमी टोलीलाई कोरियाबाट सहयोग प्राप्त भएको छ ।
भोलि बिहीबारबाट सिक्किमस्थित सोरङ जिल्लाको चाकुगमा सुरु हुन लागेको एल.डी काजी स्मृति फुटबल प्रतियोगितामा सहभागी हुनका लागि हेटौँडा फुटबल एकेडेमी टोलीलाई बी.डिभिजन खेलाडी अजय बरालले कोरियाबाट २० सेट जर्सी कट्टु सहयोग गरेका हुन् ।
हेटौँडा–५, निवासी हाल कोरियामा बसोबास गर्दै आएका बरालले प्रतियोगितामा सहभागी हुन क्रममा सहज होस् भनेर ३० हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको हेटौँडा फुटबल एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भीम लामाले जानकारी दिए ।
यही आइतबार हुने पहिलो खेलमा हेटौँडा फुटबल एकेडेमीको टिमले नाम्ची जिल्लाको रेड पाण्डाको टिमसँग प्रतिस्पर्धा गर्नुपर्ने एकेडेमीका अध्यक्ष लामाले बताए । दुबै टिम जीतको लक्ष्यसहित मैदानमा उत्रने छन् । प्रतियोगितामा १६ वटा टिमहरुको सहभागिता रहने उनको भनाई छ ।
यसअघि भने हेटौँडा फुटबल एकेडेमीको टिम छिमेकी मूलूक भारतमा भएको ७९ औं इन्डिपेनडेन्ट डे फुटबल प्रतियोगितामा सहभागी भएर उपाधि जितेको थियो । मुनसोङ खेल मैदानमा सम्पन्न भएको फाइनल खेलमा बरमेक क्लबलाई ४–१ गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमीले उपाधि जितेको थियो ।
प्रतियोगितामा नेपालबाट हेटौँडा फुटबल एकेडेमी र झापा जिल्लाको झापा–११ नेपालको सहभागिता रहने छ भने अन्य टिम भारतकै सहभागी हुनेछन् । प्रतियोगितामा केएफसी सिलिगुरी, सिङलिङ्ग सोरेङ, स्टेभ ब्रदर्श मलबजार, आक्रमण ग्यानटोक, मिक्सड अफ ब्वाइज, हिमालयन एससी ग्यानटोक, हेटौंडा फुटबल एकेडेमी, रेड पाण्डा नाम्ची, सिक्किम पुलिस, गेरोजियन एफसी, याङथाङ युनाइटेड, बीएसके जालपाइगुरी, कुरेसोङ, भेङथार, झापा नेपाल र ब्रदरहुड एफसीको टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रोत्साहन गर्ने र खेलको माध्यमले भातृत्व कायम गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको बताइएको छ । प्रतियोगिताको फाइनल खेल कार्तिक २३ गते हुनेछ । हाल हेटौंडा फुटबल एकेडेमीमा बिहान दैनिक ५० जना खेलाडीहरु प्रशिक्षणमा सहभागी हुने गरेका छन् ।















