हेटौँडा । मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइन खेल आज हुँदैछ । फाइनल खेलमा एपीएफ र पुलिस क्लब भिड्नेछ ।
उक्त प्रतियोगिता आज दिउँसो ३ बजेदेखि हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ स्थित गौरीटार रंगशालामा सुरु हुनेछ ।
पहिलो सेमिफाइनलमा चितवनलाई ७–० फराकिलो गोलान्तरले हराउँदै फाइनल प्रवेश गरेको पुलिस क्लब र दोस्रो सेमिफाइनल खेलमा संकटालाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान बनाएको एपीएफ दुबै टिम उपाधि हात पार्ने दाउमा छन् ।
एपीएफका प्रशिक्षक जिवेश पाण्डेले मेहनत गरेर उपाधी जित्ने बताए । पुलिस पनि राम्रो टिम भएको बताउँदै उनले आट्याकिङमै ध्यान दिएर खेल्ने पनि बताए । एपीएफकी कप्तान अनिता बस्नेतले निरन्तर खेल खेलिरहेकोले आफुहरुले अलि रेष्ट कम पाएको तर फाइनलमा उपाधी जित्ने गरि खेल्ने दावी गरिन् ।
यस्तै, पुलिसका प्रशिक्षक भोला सिलकारले एपीएफ तुलनात्मक रुपमा आफुहरुभन्दा बलियो टिम भएपनी कम्पिटिसनमा उत्रने बताए । एपीएफ राष्ट्रिय खेलाडीले भरिपूर्ण एपीएफ बलियो भए पनि आफुहरुले जित्ने गरि खेल्ने र सबै खेलाडी शारीरिक रुपमा फिट रहेको बताए । यो पटक एपीएफलाई रोक्ने आफुहरुको रणनीति रहेको पनि उनले बताए । पुलिसकी कप्तान निरुता थापाले यो उपाधी जित्ने गरि आफुहरु मैदान उत्रने बताइन् ।
प्रतियोगिताको विजेता र उपविजेता समूहले क्रमशः ७ लाख र ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसअघि विजेता र उपविजेतालाई क्रमशः ५ लाख र ३ लाख रुपैयाँ दिने घोषणा गरेको आयोजक मकवानपुर फुटबल संघले अन्तिम समयमा आएर पुरस्कार राशी बढाएको हो ।
साथै सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने फुटबल संघ मकवानपुरका महासचिव छबि सुवेदीले जानकारी दिए ।

















