हेटौँडा । चर्च ब्वाइज युनाइटेड सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाईज फाइनलमा प्रवेश गरेको हो ।
चर्च ब्वाइजको जीतमा विदेशी आर्मण्डले खेलको दोस्रो हाफको २८ औं र ३२ औँ मिनेटमा गोल गरे भने सुमित श्रेष्ठले खेलको ८५ औं मिनेट गोल गरे । एपीएफका लागि बुद्धिमान राइले खेलको पहिलो हाफको ३६ औं मिनेटमा र हरि कार्की दोस्रो हाफको ४३ औं मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच आर्मण्ड घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा एपीएफले संकटालाई र चर्च ब्वाइजले विभागीय टोलि त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । एपीएफ गत संस्करणको उपविजेता टोलि हो भने चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोलि हो । गत संस्करणमा एपीएफ मछिन्द्रसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल शनिबार मछिन्द्र फुटबल क्लब र थ्रीस्टार बीच हुनेछ । सोमबार हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ ।

















