१० महिनामा मकवानपुरका ४५८ किशोरी आमा बने

हेटौंडा मकवानपुरमा १० महिनाको अवधिमा ४५८ किशोरीहरु आमा बनेका छन् । जनस्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ४५८ किशोरीहरु आमा बनेका हुन् ।

जनस्वास्थ्य कार्यालय मकवानपुरले बिहीबार हेटौंडामा आयोजना गरेको स्वास्थ्य अभिमुखीकरण कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार जिल्लाभर ४ हजार १२७ जना सुत्केरी भएकोमा ११ दशमलव ०६ प्रतिशत आमाहरु २० वर्ष भन्दा कम उमेरका रहेका छन् । मकवानपुरमा रहेको दश स्थानीय तहमध्ये सबैभन्दा बढी राक्सिराङ गाउँपालिकामा कम उमेरमा आमा बन्नेको संख्या रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताए । उनका अनुसार यहाँ कुल सुत्केरी भएका मध्ये २४ दशमलव ११ प्रतिशत २० वर्ष मुनीका रहेका छन् ।

त्यस्तै बागमतीमा २३ दशमलव ०४ प्रतिशत, बकैयामा १७ दशमलव ११ प्रतिशत, भीमफेदीमा १७ दशमलव ०७ प्रतिशत किशोरी आमा बनेको पाइएको छ । कैलाश गाउँपालिकामा १५ दशमलव ५६ प्रतिशत, थाहा नगरपालिकामा ११ दशमलव ५९ प्रतिशत बीस वर्ष नपुग्दै आमा बनेका छन् ।

जनस्वास्थ्य कार्यालयका प्रमुख मिजारका अनुसार गत आर्थिक वर्षमा १० दशमलव ९३ प्रतिशत किशोरी आमा बनेका थिए । तथ्यांक अनुसार गत आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षको दश महिनाको अवधिमा २० वर्ष भन्दा कम उमेरमा आमा बन्नेको संख्यामा वृद्धि भएको छ । मनहरी गाउँपालिकामा १६ दशमलव ०५ प्रतिशत, मकवानपुरगढीमा २३ दशमलव १६ प्रतिशत र हेटौंडा उपमहानगरपालिकामा ८ प्रतिशत किशोरी २० वर्ष भन्दा कम उमेरमै आमा बनेका छन् ।

मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका बालमैत्री पालिका घोषणा भैसकेको छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले बाल विवाह न्यूनीकरणका लागि विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरेपनि बाल बिबाह र किशोरी उमेरमै आमा बन्ने क्रम भने रोकिएको छैन ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.