हेटौँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्लाष्टिकको प्रदुषणबाट गम्भीर वातावरणीय परिणाम कम गर्नतर्फ सचेत हुन सबैलाई आग्रह गरेका छन् ।
बिहीबार ५३ औं विश्व वातावरण दिवस अर्थात ५ जुन २०२५ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले प्लाष्टिकको प्रदुषणबाट जैविक विविधतामा संकट निम्त्याएको भन्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘कुनैपनि देश वा क्षेत्रको वातावरणमा आएको विनाशले अर्को देश र क्षेत्रलाई पनि असर पार्दछ, जलवायु परिवर्तन, पृथ्वीको तापक्रममा वृद्धि, पानीका स्रोत र माटोमा प्लाष्टिकको जालो, वनविनासजस्ता क्रियाकलापले पृथ्वीका अरु प्राणीलगायत मानव अस्तित्व नै संकटमा पर्ने खतरा छ,हामी सचेत हुनुपर्छ ।’
वातावरण विनासको मुख्य कारक मानव समुदाय रहेको उल्लेख गर्दे उनले पृथ्वीको कोमलताप्रति खेलवाड गरेर आफ्नो खुट्टामा आफै बन्चरो प्रहार गरिरहेको बताए । मानव–प्रकृतिसंगको सम्बन्धलाई केवल उपयोगको हैसियतमा होइन, सह–अस्तित्वको भावनाबाट हेर्नुपर्ने उनको भनाई छ । साथै उनले प्लाष्टिकजन्य सामग्रीको विकल्प खोज्नुपर्ने बताए ।
वातावरणीय सचेतनाका लागि कालापत्थरमा मन्त्री परिषद् बैठक हालै सम्पन्न “सगरमाथा संवाद” जस्ता वातावरण संरक्षणमा संसारको ध्यान आकर्षित गर्ने कार्यक्रमहरु सञ्चालन गरेर नेपाल सरकारले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि पहलहरु गरेको प्रदेश प्रमुख देवकोटाले जारी गरेको सन्देशमा उल्लेख गरिएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाले घोषणा गरेको तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन संसारभर विश्व वातावरण दिवस मनाउने गरिएको छ ।
नेपालले यसै दिन अर्थात जुन ५ लाई विश्व वातावरण दिवसको रुपमा मनाउने गरेको छ । यो वर्षको विश्व वातावरण दिवसको नारा “प्लाष्टिक प्रदुषण न्युनीकरणःहाम्रो दायित्व” भन्ने रहेको छ ।

















