हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुरले २७ औं स्थापना दिवस मनाएको छ । मंगलबार हेटौंडामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी प्रेस चौचारी मकवापुरले आफ्नो स्थापना दिवस मनाएको हो ।
कार्यक्रम प्रेस चौतारी नेपाल मकवानपुरकी अध्यक्ष सरिता दहालको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रमको सम्बोधन गर्दै केन्द्रिय सदस्य मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनु आजको आवश्यकता भएको बताए ।
उनले अधिकार प्राप्तिको चरणपछि आर्थिक समृद्धिको दिशामा बढनुपर्ने अवस्था आएको बताए । लोकतन्त्र आवरण र नारामा मात्र सीमित राख्ने विषय नभएको बताउँदै उनले लोकतन्त्रलाई आत्मसात् गरेर अगाडि बढ्न आग्रह गरे ।
रानाले समाजमा घृणाको रोपन गर्ने तत्वहरु क्रियाशील रहेको बताए । राष्ट्रियता र लोकतन्त्रको विरुद्ध उभिने पक्षहरुले समाजमा नकारात्मकता फैलाइरहेको उनले उल्लेख गरे । यसैगरी कार्यक्रममा बोल्दै पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगरले पत्रकारहरुले आफ्नो व्यवसायिक धर्म निभाउनुपर्ने बताए ।
संघीयता व्यवस्थालाई कमजोर बनाउन सञ्चारजगतबाटै अपारदर्शी ढंगले सहयोग भइरहेकोले त्यसतर्फ पनि सचेत रहन उनले आग्रह गरे । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ , एमाले जिल्ला उपसचिव आरती पाठक, प्रचार विभाग प्रमुख उज्वल चौलागाईं, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य धर्मेन्द्र दाहाल, नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष ध्रुब अधिकारी, स्वतन्त्र पत्रकार संघका केन्द्रीय उप–महासचिव सुरेश श्रेष्ठ, प्रेस युनियनका मकवानपुरका अध्यक्ष सुवास विडारी सहितले मन्तब्य ब्यक्त गरेका थिए ।

















