हेटौँडा । जैविक विविधता रणनीति तथा कार्ययोजना र वन निर्देशनालयले तयार पारेको प्रदेश राष्ट्रिय वन नियमावलि माथि हेटौंडामा छलफल गरिएको छ । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीको प्राविधिक सहयोग, समुदायमा आधारित वन सहजकर्ता सञ्जाल नेपाल कफसनको समन्वयमा वन निर्देशनालय बागमती प्रदेशको आयोजनामा छलफल कार्यक्रम गरिएको हो ।
नेपालको जैविक विविधता रणनीति तथा कार्ययोजना निर्माणका लागि सम्बन्धी निकायका प्रतिनिधिसँग सुझाव लिने उद्देश्यले अन्तरक्रिया गरिएको हो । कार्यक्रममा जैविक विविधता संरक्षणको अवस्था, चुनौती लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै प्रदेश निती तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले सामुदायिक वन पैदावारको उपयोग बढाउनुपर्ने बताउँदै रखवाला नै हकवाला हुने धारणा राखे ।
स्थानीय तहले पनि सामुदायिक वनको संरक्षणका लागि छुट्टै युनिट बनाउनुपर्नेमा उनको जोड थियो । जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर घलानले जैविक विविधता संरक्षणका साथै उपयोग पनि गर्न आवश्यक रहेको बताए ।
पछिल्लो समय बन्यजन्तु र मानव बीचको द्धन्द्धको उदाहरण दिदै जैविक विविधता संरक्षणले नकारात्मक प्रभाव पनि पारिरहेकोतर्फ सचेत हुनुपर्नेमा उहाँको जोड थियो । वन निर्देशनालयका प्रदेश वन निर्देशक विद्यानाथ झाको अध्यक्षतामा भएको कार्यक्रममा वन विज्ञ पूर्व सचिव डाक्टर कृष्णचन्द्र पौडेल, गैसस बागमती प्रदेशका अध्यक्ष कमल कुमार विश्वकर्मा लगायतको उपस्थिती थियो ।

















