हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १० स्थित बसपार्कमा दोस्रो घरेलु उत्पादन प्रवद्र्धन प्रदर्शनी र नृत्य प्रतियोगिता सहित शैक्षिक मेला २०८१ सुरु भएको छ । शुक्रबार, हेटौंडा–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामाको सभाध्यक्षता र बागमती प्रदेशका प्रमुख दिपक प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा मेलाको उद्घाटन भएको हो ।
उद्घाटनको अवसरमा प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले घरेलु हस्तकला र कृषिजन्य उत्पादनलाई उद्यमशीलताका महत्वपूर्ण आधारस्तम्भको रूपमा परिभाषित गर्दै, आन्तरिक उत्पादनको खपत र निकासीमा थप जोड दिनुपर्ने आवश्यकता औंल्याए । उनले भने , घरेलु र हस्तकला उत्पादनले स्वरोजगारलाई प्रवद्र्धन गर्दै रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेल्नेछ । ’
हेटौंडा–१० नम्वर वडा कार्यालयको आयोजनामा भएको यो प्रदर्शनी र शैक्षिक मेला शनिबारसम्म सञ्चालन हुने वडा अध्यक्ष लामाले बताए । मेलामा हेटौंडा नगरका १९ वटै वडाका घरेलु तथा हस्तकला, कृषि उत्पादन र ढाका सामग्रीहरूको प्रदर्शनी र बिक्री वितरण गरिँदैछ ।
वडाध्यक्ष लामाले स्थानीय उत्पादन वस्तुहरुलाई प्रर्बद्धन गर्ने, उत्पादित वस्तुहरुको बजारीकरण गर्ने र स्वरोजगार सिर्जनामा सहयोग पुर्याउने उद्देश्यले प्रदर्शनी मेलाको आयोजना गरेको बताउँदै व्यवसायीहरुलाई स्टल निःशुल्क उपलब्ध गराइएको जानकारी दिए ।
कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलुवाल, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख तिर्थराज चिलुवाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्का, सशस्त्र प्रहरी बल १४ नं। गणका प्रमुख उपरीक्षक ज्ञ्यान प्रसाद भुर्तेल, मकवानपुर उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रमोद सिंह रानाभाट, उपमहानगरका जनप्रतिनिधिहरू, विद्यार्थीहरू र स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

















