हेटौंडा । हेटौंडा १२ मा भएको मतदान कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको समय भन्दा ७ मिनेट बिहान ७ बजेर ७ मिनेटमा सुरु भएको मतदान कार्य ५ बजे सक्किएको हो । दुई वटा मतदान केन्द्र रहेको उक्त वडामा सिग्रेनी स्थित प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्रमा महिला १६३६, पुरुष १३७२ अल्पसंख्यक १ र खामबन्दी ३ गरी जम्मा ३०१२ मत खसेको छ ।
त्यहाँ ४४२८ मतदाता रहेका थिए । यता भोर्ले स्थित विष्णु ज्योती आधारभूत विद्यालय मतदान केन्द्रमा महिला १२९१ पुरुष ११८३ गरी २४६४ मत खसेको छ । त्यहाँ ३६२५ मतदाता रहेका थिए । दुवै केन्द्रमा ५ हजार ४८६ मत खसेको छ । जुन मत जम्मा मतको ६८.१२ प्रतिशत हुन आउछ । ८ हजार ५३ मतदाता रहेको उक्त वडामा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । जसमध्ये दलबाट ९ जना र स्वतन्त्र ३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
दलबाट एमालेका राजेश नगरकोटी, कांग्रेसका अर्जुनप्रसाद तिवारी, माओवादी केन्द्रका रवि कुमार प्रधान, रास्वपाका आशावीर बल, राप्रपाका प्रेमबहादुर भोलन, जसपाका छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशकी दीपा लामा, नेमकिपाकी फूलमाया तितुङ र एकीकृत समाजवादीका बलराम बल उम्मेदवार रहेका छन् भने स्वतन्त्रबाट अर्जुन घलान, गिताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा रहेका छन् ।
२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेसँगै हेटौँडा–१२ को अध्यक्ष पद रिक्त रहेको थियो । अब मतपेटिका ढुवानी गरी हेटौडा २ स्थित मतगणना स्थल सिद्धान्त मावि ल्याइने छ । सर्वदलीय बैठक बसेर आजै रातिबाट मतगणना कार्य सुरु गरिने मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराई जनाएकी छिन् ।
















