मनहरीको आगलागी पीडित गोले परिवारलाई खाद्यन्न सहयोग

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिने चुवारपाखाका एक आगलागी पीडित परिवारलाई चैनपुर जेसीज मनहरीले खाद्यान्न सहयोग गरेको छ । वनबाट सल्केको डंढेलोले घरसहित खाद्यान्न, लत्ताकपडा र खानेकुरा जलेर नष्ट भएका गणेशबहादुर गोलेको परिवारलाई बुधबार खाद्यान्न सहयोग गरेको हो ।

गोलेको परिवारलाई ३ बोरा चामलसहित तरकारी, नुन, तेल, मसला, सावुन लगायतका सामग्री सहयोग गरिएको हो । कार्यक्रम संयोजक मिलन ढुङ्गानाको संयोजन एवम् चैनपुर जेसीज मनहरीका अध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका-४ नम्बर वडा अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

डंढेलोका कारण घर जलेर नष्ट भएपछि छिमेकीको घरमा बस्न बाध्य भएको परिवारलाई तुरुन्तै खाद्यान्न सहयोग कार्यक्रम आयोजना गरिएको अध्यक्ष ढकालले बताए । वडा अध्यक्ष थापाले आफ्नो वडाको आगलागी पीडितलाई सघाउ गरेकोमा जेसीजलाई धन्यवाद ज्ञापन गर्दै पीडितको घर बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वनबाट सल्केको आगोले घर जलेर नष्ट भएपछि गोलेको ५ जनाको परिवार छिमेकमा आश्रय लिएर बस्न बाध्य रहेका छन् । यसअघि वडा अध्यक्ष थापाले समेत आवश्यक खाद्यान्न सहयोग गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, स्थानीय समाजसेवी माधव गौतम, मानबहादुर थिङ, मंगलबहादुर मुक्तानलगायतको आतिथ्यता रहेको जेसीजका महासचिव सुरेश गौतमले जानकारी दिए ।

पशुपति माविका अध्यक्ष समेत रहेका गौतमले आगलागी पीडित परिवारको विद्यार्थीका लागि भर्ना निःशुल्क गर्नुका साथै विद्यालय पोशाक र स्टेसनरी सामग्री सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा समुन्द्र फार्मेसी हेटौंडा-१९ ले आगलागी पीडितसहित स्थानीयवासीको निशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधि समेत वितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.