धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ३३ अर्ब ४७ करोड ७० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह थापाले आइतबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन्।
मन्त्री थापाले प्रस्तुत गरेको बजेटमा समावेशी विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएको छ। बजेटमा समग्र आर्थिक पुनरुत्थान र सामाजिक समावेशितालाई सम्बोधन गर्ने प्रयास गरिएको मन्त्री थापाले बताए ।
प्रस्तुत बजेटमा पुँजीगत खर्चतर्फ सबैभन्दा धेरै रकम विनियोजन गरिएको छ। कुल बजेटको ५९ दशमलव २८ प्रतिशत अर्थात् १९ अर्ब ८३ करोड २ लाख रुपैयाँ पुँजीगत खर्चतर्फ छुट्याइएको छ। चालु खर्चका लागि १० अर्ब २० करोड ८१ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ३० दशमलव ४८ प्रतिशत हो।
अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ (१० दशमलव २४ प्रतिशत) र वित्तीय व्यवस्थापनका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ।















