मकवानपुरका ३५ उम्मेदवारको धरौटी जफत, पूर्वसांसद दीपकबहादुर सिंह पनि जोगिन सकेनन्

मकवानपुर । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुरका दुईवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएकामध्ये ३५ जना उम्मेदवारको धरौटी जफत भएको छ । आवश्यक मत प्राप्त गर्न नसकेपछि उनीहरूको धरौटी जफत भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार, सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार आवश्यक मत प्राप्त गर्न नसक्दा उनीहरुको धरौटी जफत गरिएको हो ।

मकवानपुर क्षेत्र नम्बर १ मा ९० हजार ७२५ मत सदर भएको थियो । धरौटी जोगाउन कम्तीमा ९ हजार ७३ मत आवश्यक पर्ने भए पनि १८ जना उम्मेदवारले सो मत ल्याउन सकेनन् । तीमध्ये ८ जना राजनीतिक दलका र १० जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार तथा पूर्वसांसद दीपकबहादुर सिंहले ४ हजार ५७४ मत प्राप्त गरे पनि धरौटी जोगाउन सकेनन् । त्यस्तै, श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठले १ हजार २४ मत प्राप्त गरेकी छन् भने अन्य धेरै उम्मेदवारले सयभन्दा कम मत प्राप्त गरेका छन् ।

त्यस्तै, मकवानपुर क्षेत्र नम्बर २ मा ८५ हजार ६१९ मत सदर भएको थियो । यस आधारमा धरौटी जोगाउन ८ हजार ५६२ मत आवश्यक पर्ने भए पनि १७ जना उम्मेदवारले आवश्यक मत ल्याउन सकेनन् । यस क्षेत्रमा १२ जना दलका र ५ जना स्वतन्त्र उम्मेदवारको धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन परिणामअनुसार मकवानपुरका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । मकवानपुर–१ मा प्रकाश गौतम ३६ हजार ३३ मतसहित निर्वाचित भएका छन् भने मकवानपुर–२ मा प्रशान्त उप्रेती ३० हजार ५० मतसहित विजयी भएका छन् ।

मकवानपुरको निर्वाचन क्षेत्र नं. १ मा २३ जना र क्षेत्र नं. २ मा २१ जना गरी ४४ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.