बागमती मन्त्रीपरिषद् बैठक: ३२ गौरव आयोजना छनोट, बहुवर्षीय योजनालाई प्राथमिकता

मकवानपुर । बागमती प्रदेश सरकारले ३२ वटा ‘प्रदेश गौरवका आयोजना’ छनोट गर्दै बहुवर्षीय योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ।
बुधबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयबाट प्रस्तावित प्रदेश गौरवका आयोजना तथा बहुवर्षीय योजनाहरूलाई पारित गरेको हो।

बैठकपछि जानकारी दिँदै सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेशको समग्र विकासलाई तीव्रता दिन ३२ वटा आयोजना गौरवका रूपमा अघि बढाउने निर्णय भएको बताए।

उनका अनुसार गौरवका आयोजनाअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयका १७ वटा, खानेपानी तथा सरसफाइ मन्त्रालयका ९ वटा, पर्यटन मन्त्रालयका ३ वटा तथा स्वास्थ्य मन्त्रालयका ३ वटा आयोजना रहेका छन्। हाल यी आयोजनाहरूको शीर्षक मात्र स्वीकृत गरिएको र बजेटको व्यवस्था भने आर्थिक मामिला तथा योजना मन्त्रालयले वित्तीय व्यवस्थापनको क्षमता हेरेर तय गर्ने उनले स्पष्ट पारे।

बैठकले बहुवर्षीय आयोजनाहरूको हकमा नामसहित प्रस्ताव पारित गरी बजेट सिलिङ निर्धारणका लागि अर्थ मन्त्रालयको सहमतिअनुसार अघि बढ्ने निर्णय गरेको छ।
त्यसैगरी, केही समयदेखि रोकिएको सचिवहरूको तलबसम्बन्धी विषयमा पनि मन्त्रिपरिषद् बैठकमा छलफल भई प्रदेश ऐनले तोकेको प्रक्रिया अनुसार अगाडि बढाउने निर्णय भएको छ।

प्रदेश निजामती सेवा नियमावलीको मस्यौदा तयार गरी परामर्शका लागि लोक सेवा आयोगमा पठाउने निर्णय पनि बैठकले गरेको छ। निजामती सेवा ऐनले निर्दिष्ट गरेका विषयलाई थप स्पष्ट पार्न तथा ऐनले नसमेटेका विषयहरूलाई तोकिएको ढाँचामा समेट्न नियमावली तयार गरिएको मन्त्री तामाङले बताए। नियमावलीलाई प्रभावकारी र व्यवहारिक बनाउन आयोगको परामर्श लिने उद्देश्यले मस्यौदा पठाउने निर्णय गरिएको हो।

त्यस्तै मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्तावमा ‘विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष नियमावली २०८२’ स्वीकृत गरेको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा ‘प्रादेशिक कृषि थोक बजार सञ्चालन निर्देशिका २०८२’ को मस्यौदालाई पनि स्वीकृति दिएको छ।
प्रदेश सरकारले यी निर्णयमार्फत विकास आयोजनालाई व्यवस्थित, दीर्घकालीन र प्रभावकारी ढंगले अघि बढाउने लक्ष्य लिएको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.