हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रत्येक जातजाति र समुदायका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेको बताएका छन् । मुख्यमन्त्री बानियाँले गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा मंगलबार एक शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।
उनले बागमती प्रदेश सरकार धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै सबै समुदायबिच एकता र सहअस्तित्व कायम राख्न प्रतिबद्ध रहेको बताए । नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको भन्दै अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान भएको उनको भनाई छ ।
प्रदेश भित्र बसोबास गर्ने जातजातिका संस्कृतिहरूको संरक्षण तथा प्रवर्धन गर्दै तिनको विकासका लागि आवश्यक सहयोग गर्न सदैव तयार रहेको उनले जारी शुभकामना सन्देशमा भनिएको छ ।
मुख्यमन्त्री बानियाँले भनेका छन्, ‘‘विशेषतः तमु ल्होसार पर्वलाई गुरुङ समुदायले नयाँ वर्षको रूपमा मनाइरहँदा यसले विशिष्टीकृत सांस्कृतिक पहिचान स्थापित गरेको र परम्परागत मूल्य मान्यता प्राप्त गरेको महसुस गरेका छौँ ।’’
मुख्यमन्त्री बानियाँले साँस्कृतिक रूपमा धनी तमु (गुरुङ) समुदायले आफ्नो संस्कृतिको संरक्षण एवम् प्रवर्धन गर्नका लागि आफ्नो सांस्कृतिक परम्परा, प्रथा एवम् चालचलनलाई व्यवस्थित गर्नका लागि गरिएका प्रयास अनुकरणीय रूपमा स्थापित हुँदै आएको बताए ।















