हेटौँडा । बागमती प्रदेश सरकारले जेन जी प्रदर्शनका क्रममा सवारीसाधनमा क्षति पुगेका प्रहरी कार्यालयका लागि मोटरसाईकल उपलब्ध गराउने निर्णय गरेको छ ।
बागमती प्रदेश सरकारले करिब ३ करोड रूपैयाँ बराबर मूल्य पर्ने ८५ वटा मोटरसाइकल दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।
उनका अनुसार, चाडपर्वको समयमा सुरक्षा चुनौतीको संवेदनशीलतालाई ध्यानमा राखेर मोटरसाइकल उपलब्ध गराउने निर्णय गरिएको हो । जसनुसार, प्रदेशका इलाका प्रहरी कार्यालयहरूका लागि ३० वटा, उपत्यका प्रहरीको लागि ३० वटा र उपत्यका ट्राफिक प्रहरीको लागि २५ वटा गरी ८५ वटा २ पाङ्ग्रे सवारीसाधन दिने भएको हो ।
आर्थिक मामिला मन्त्रालयले मोटरसाइकल खरिदका लागि सहमति दिइसकेको उनको भनाई छ । प्रदेशको सवारीसाधन खरिद मापदण्डलाई टेकेर मोटरसाइकल उपलब्ध गराउन लागिएको भन्दै मन्त्री तामाङले मापदण्डअनुसार अधिकत्तम १६० सीसीको ३ लाख ५० हजार रूपैयाँसम्मको मोटरसाइकल खरिद गर्न सकिने व्यवस्था रहेको बताए ।
















