मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले पार्टी कार्यालयमा नेपाली झण्डा राखेर संविधान दिवस मनाएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर २ स्थित काँग्रेस पार्टी कार्यालयमा नेपालको राष्ट्रिय झण्डा राखे १० औं संविधान दिवस मनाइएको हो ।
काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले पार्टी कार्यालयमा झण्डा राखेका थिए । उक्त झण्डा कार्यक्रमका बिच तरुण दल मकवानपुरले मुख्यमन्त्री समेत रहेका बानियाँलाई नेपाली झण्डा हस्तान्तरण गरेको थियो ।
सबिधानको रक्षा , लोकतान्त्रिक गणतन्त्रको संरक्षण प्रबद्र्धन गर्नुपर्ने समेत माग राख्दै झण्डा हस्तान्तरण गरेको नेपाली काँग्रेस नेता तथा तरुण दलका केन्द्रिय सदस्य राजेश भेटवालले जानकारी दिए ।
यस्तै, कार्यक्रममा बोल्दै सभापति बानियाँले जेन–जीको भावनालाई कदर गरेर, वास्तविक जेन–जीको मागलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले थपे, ‘हामी कसैको होइन, हाम्रो कोही होइन, हामी देशको हो, देश हाम्रो हो, हामी काँग्रेसको हो, काँग्रेस हाम्रो हो’ भन्ने भावनाले अगाडि बढ्नुपर्ने बताए ।

जेन–जी पुस्ताले गरेको अभियानसँगको प्रदर्शन, प्रदर्शनसँगको माग भनेको भ्रष्टाचार निर्मुल, सामाजिक सञ्जाल खुल्ला गर्नुपर्ने माग रहेको बताउँदै उनले जेन–जी पुस्ताको प्रदर्शनमा घुसपैठ समेत भएको बताए ।
कार्यक्रम नेपाली काँंग्रेस मकवानपुर सभापति तथा मुख्यमन्त्री बानियाँका राजनीति सल्लाहकार बुद्ध लामाको सभाध्यक्षतामा भएको थियो ।















