हेटौँडा । लामो विवादपछि रोकिएको चिट्ठा विधेयक पुनः बागमती प्रदेशसभामा प्रस्तुत गरिएको छ ।आइतबारको बैठकमा प्रदेश मामिला समितिका सभापति छिरिङदोर्जे लामाले प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गरेका हुन् ।
समितिमा दफावार छलफल र संशोधनसहित पारित गरिएको प्रतिवेदन अब प्रदेशसभामा छलफलका लागि प्रस्तुत हुनेछ । २०८० वैशाख १२ गते प्रदेशसभाले विधेयक पारित गरी प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पठाएको थियो । तर, तत्कालीन प्रदेश प्रमुख यादवचन्द्र शर्माले गम्भीर त्रुटि औँल्याउँदै २०८० जेठ ७ गते विधेयक फिर्ता पठाएका थिए ।
त्यसयता पटक–पटक संसदमा ल्याउने प्रयास भए पनि एमालेको विरोधका कारण विधेयक रोकिँदै आएको थियो । अहिले भने प्रमुख दलहरूको सहमतिपछि समितिबाट प्रतिवेदन पेस भइसकेको छ । अब यसबारे अन्तिम निर्णय प्रदेशसभाको छलफलपछि हुने भएको छ ।















