मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा निर्माण हुन लागेको मोक्ष धामका लागि बागमती प्रदेश सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।
आइतबार पालुङमा नगरपालिकाद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सो बारे बताएका हुन् । उनले थाहा नगरलाई धार्मिक तथा प्राकृतिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। उनले मोक्ष धाम निर्माणका लागि चालु आर्थिक वर्षमै एक करोड रुपैयाँ सुनिश्चित गर्ने प्रतिवद्धता जनाए।
मुख्यमन्त्री बानियाँले थाहा नगरलाई चौतर्फी विकास गर्ने सरकारको तयारी रहेको जानकारी दिँदै धार्मिक पर्यटनको प्रवर्द्धनमार्फत स्थानीय रोजगारी, आर्थिक समृद्धि र नगरको पहिचान बलियो बनाउन सकिने बताए।
सोही अवसरमा उनले थाहा नगरपालिकाले पाएको पूर्ण संस्थागत स्वरूपलाई ऐतिहासिक उपलब्धि भन्दै प्रदेश सरकार र स्थानीय सरकारबीच सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।
















