हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालय र सरकारी निकायको सार्वजनिक खर्च कटौती गर्न निर्देशन दिएका छन् । प्रदेशका मन्त्रालयका सचिवहरूको बुधबार सम्पन्न बैठकमा उनले मन्त्रालय र निकायमा हुने अनावश्यक खर्च नियन्त्रण गरेर आर्थिक सुशासन कायम गर्न निर्देशन दिएका हुन् ।
उनले मन्त्रालय सञ्चालनमा दक्षता, पारदर्शिता र समयमै सेवा वितरणलाई मुख्य एजेन्डा बनाइएर काम गर्नुपर्ने बताउँदै कामको गुणस्तर सुधारका लागि कसैले काम नगरी तलब खाने प्रथा अन्त्य गर्ने र कर्मचारीको कार्यक्षमता वृद्धिमा जोड दिन आग्रह गरे ।
उनले सरकारका महत्वपूर्ण योजनाहरू समयमै सम्पन्न गर्ने, कार्यव्यवस्था र जिम्मेवारीमा ढिलाइ नगर्ने, र एकताबद्ध रूपमा कार्य सम्पादन गर्न निर्देशन दिए । बैठक तथा संरचना सम्बन्धी प्रस्तावहरू समयमै तयार गर्ने, सरकारी साधन स्रोतको दुरुपयोगमा नियन्त्रण गर्ने, चाँडो नतिजा दिने र समयमै न्याय दिलाउने कार्यलाई प्राथमिकतामा राख्न सचिवहरुलाई उनले आग्रह गरे ।

















