हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नयाँ नेता चयनका लागि आज मतदान हुँदैछ। मंगलबार मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा कांग्रेसका २२ सांसदले हस्ताक्षर गरेसँगै उनले दलको नेताको हैसियत गुमाएका थिए।
दलको नयाँ नेता छान्न कांग्रेस प्रदेश कार्यसम्पादन समितिले प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। समितिमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य छन्। निर्वाचन समितिले आज बिहान ८ बजे मतदाता नामावली सार्वजनिक गर्ने र दिउँसो २ बजेबाट मतदान प्रक्रिया सञ्चालन गर्ने कार्यतालिका तय गरेको छ।
मंगलबारको मतविभाजनमा मुख्यमन्त्री लामाको पक्षमा १५ सांसद मात्रै देखिएका थिए। अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेहरू कांग्रेस प्रदेश सभापति तथा सांसद इन्द्रबहादुर बानियाँ पक्षधर हुन्। यही समूह अब नयाँ नेताका लागि बलियो दावेदारका रूपमा अगाडि बढिरहेको छ।
२०७९ पुस १३ गतेको संसदीय दल नेताको निर्वाचनमा भने लामाले बानियाँलाई ५ मतले पराजित गरेका थिए।
यसपटक बानियाँकै नेतृत्वमा लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो। प्रस्तावसँगै कांग्रेसका पाँच मन्त्रीले राजीनामा दिएका थिए। ९ साउनमा चार मन्त्रीले राजीनामा दिएकामा मंगलबार मात्रै खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले पनि राजीनामा बुझाएका थिए। यसअघि राजीनामा दिएका चार मन्त्रीलाई लामा सरकारले पदमुक्त गरिसकेको छ।
यद्यपि मुख्यमन्त्री लामाले पदबाट राजीनामा नदिने अडान राखेका छन्। उनले भने, “संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने कानुनी बाध्यता छैन। दलको नेता नभए पनि पार्टीको निर्णयअनुसार मुख्यमन्त्री हुन सकिन्छ।”


















