कांग्रेसका दुई सांसदले फिर्ता लिए बागमतीका मुख्यमन्त्री लामाविरूद्धको अविश्वास प्रस्ताव

file-photo

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेका दुई सांसदले फिर्ता लिएका छन् ।

मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेका भनिएका सांसद माया श्रेष्ठ र मीना पराजुलीले नाम फिर्ता लिएका हुन् । उनीहरुले विज्ञप्ति जारी गर्दै जानकारीबिनै हस्ताक्षर गराएको भन्दै नाम फिर्ता लिएको जनाएका हुन् ।

गत साउन ९ गते शुक्रबार लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा इन्द्रबहादुर बानियाँसहित २१ जना बहुमत सांसद्ले लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

सो क्रममा जानकारी नै नगराई आफूहरुलाई हस्ताक्षर गराइएको भन्दै  सांसदद्वय श्रेष्ठ र पराजुलीले अविश्वास प्रस्ताव फिर्ता लिएको जानकारी गराएका छन् । ११ साउनको मिति उल्लेख गरिएको विज्ञप्ति आज मंगलबार मात्रै सार्वजनिक भएको हो ।

‘बागमती प्रदेश संसदीय दलका नेता मा.बहादुरसिंह लामा (तामाङ) को विरुद्धमा परेको अविश्वासको प्रस्तावमा हामी समेतको हस्ताक्षर सङ्कलन गरिएकोमा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नै नगराई हस्ताक्षर गराइएकोमा सोमा हामीहरूको असहमति रहेकाले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता लामालाई समर्थन रहेको ब्यहोरा अवगत गराउँदछौ ।’ श्रेष्ठ र पराजुलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सासंद् श्रेष्ठ र पराजुलीले अविस्वासको प्रस्ताव फिर्ता लिएसँगै मुख्यमन्त्री लामाको पक्षमा १८ र इन्द्रबहादुर बानियाँको पक्षमा १९ जना देखिएको छ । ३७ जना सांसद् रहेको कांग्रेस संसदीय दलमा संसदीय दलको नेता हुन १९ जनाको समर्थन जुटाउन आवश्यक पर्दछ ।

मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज मंगलबार प्रक्रिया अगाडि बढ्ने भएको छ । कांग्रेस संसदीय दलका सचिवसमेत रहेका सांसद कृष्ण तामाङले आजबाट अविश्वास प्रस्तावमाथिको प्रक्रिया अगाडि बढाइने जानकारी गराएका हुन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.