मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ हेवी चोकबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।
हिजो बेलुका सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस कुलेखानीबाट खटिएको टोलीले अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा भारत घर बताउने ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाव आलम, २५ वर्षीय ओसिम अहमद र २४ वर्षीय शेख गजुर रहेका छन् ।
भारतको सुगौलीबाट पर्साको वीरगञ्ज हुँदै काठमाण्डौका लागि छुटेको बीआर ०५ पीए ९०९३ नम्बरको भारतीय गाडीको तीन वटा ढोकामा फल्स बटम बनाई लागूऔषध ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
शेख गजुर गाडीका चालक हुन् । प्रहरीले उनीहरुको साथबाट लागूऔषध डाईजेपाम २२२६ एम्पुल, नुर्फिन २३५६ एम्पुल, प्रोमेथाईजिन हाईड्रोक्लोराईड १८६१ एम्पुल गरी जम्मा ६ हजार ४ सय ४३ एम्पुल र ट्रामाडोल ४९ ट्याबलेट बरामद गरेको छ ।
गाडीसहित नियन्त्रणमा लिएका उनीहरुलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय भीमफेदीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

















