काठमाडौँ । आज देशका विभिन्न स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, आज विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनतालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
उनले भनेका छन्, ‘मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले जारी गरेको सूचनालाई पालना गरौँ। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु ।’
प्रधानमन्त्री ओलीले सुरक्षा निकायहरूलाई पूर्ण तयारी अवस्थामा रहन निर्देशनसमेत दिए । साथै उनले स्थानीय प्रशासन तथा सुरक्षा निकायहरूले नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न, अनावश्यक यात्रा नगर्न र आपतकालीन जानकारीका लागि सरकारी सूचना पालना गर्न आह्वान गरेका छन्।
विभागले पनि सम्भावित बाढी, पहिरो तथा अन्य प्राकृतिक जोखिमको चेतावनी दिँदै सतर्क रहन आग्रह गरेको छ । पहाडी क्षेत्रका नदी नाला अचानक बढ्न सक्ने हुँदा सतर्कता अत्यावश्यक भएको विभागको भनाइ छ।















