मकवानपुर । हेटौँडाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध ट्रामाडोल र डाईजेपाम कारोबारमा संलग्न रहेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार, असोज २८ गते हिजो हेटौँडा उपमहानगरपालिका वडा नं. २ पिपलबोटस्थितबाट २३ वर्षीय कुशल खड्कालाई पक्राउ गरिएको हो । बकैया गाउँपालिका वडा नं।.३ हात्तिसुडे जलजले बस्ने खड्कालाई विशेष सूचनाको आधारमा खटिएको वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले पक्राउ गरेको हो ।
प्रहरीको टोलीले खानतलासी गर्दा खड्काको साथबाट लागूऔषध ट्रामाडोल ५२ क्याप्सुल बरामद गरेको र उनलाई नियन्त्रणमा लिएकोप्रहरी नायव उपरीक्षक अर्यालले बताए । उनलाई लागू औषध कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट पाँच दिनको म्याद लिइएको छ।
त्यसैगरी, असोज २७ गते हेटौँडा उपमहानगरपालिका वडा नं. १३ स्थितबाट २५ वर्षीय राहुल राना मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । ट्रामाडोलसहित बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी पदमपोखरी मकवानपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
खानतलासीका क्रममा उनको साथबाट ट्रामाडोल २० क्याप्सुल र डाईजेपाम ११ एम्पुल बरामद भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । उनलाई पनि लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट ६ दिनको म्याद अनुमति लिइएको छ ।
ती दुबै घटनाको विषयमा प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउनुका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।

















