भानुभक्तको साहित्यिक मार्गले हाम्रो पहिचान बचाउँछ: प्रदेश प्रमुख देवकोटा

file-photo

हेटौँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आदिकवि भानुभक्त आचार्यको साहित्यिक मार्गले हाम्रो पहिचान बनाउने बताउनुभयो । प्रदेश प्रमुख देवकोटाले २१२ औँ भानु जयन्तीको अवसरमा आदिकवि आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली भाषा, साहित्य र पहिचानको संरक्षणमा भानुभक्तको मार्गदर्शन आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका हुन् ।

प्रदेश प्रमुख देवकोटाले आफ्नो सन्देशमा भनेका छन्, ‘भानुभक्तले देखाएको साहित्यिक मार्गले हामीलाई आफ्नो मौलिकता, पहिचान र सांस्कृतिक चेतनाको संरक्षण गर्न प्रेरणा दिएको छ।’

‘हाम्रा गाउँघरहरू रामायणका श्लोक वाचनले गुन्जायमान हुन्थे,’ देवकोटाले स्मरण गर्दै भनेका छन्, ‘प्रायः सबैका लागि रामायण कर्णप्रिय ग्रन्थ थियो, आज पनि छ। यसले भाषा मात्र होइन, सांस्कृतिक चेतना पनि विस्तार गर्‍यो।’

प्रदेश प्रमुख देवकोटाले भानुभक्त र घाँसीबीचको प्रेरणादायी प्रसङ्गको चर्चा गर्दै साधारण जनताको जीवन दर्शनबाट नै लोककल्याणको मार्ग देखाउने शिक्षात्मक सन्देश दिएको बताए । नयाँ पुस्तामा साहित्यिक चेतना भरिने आशा व्यक्त गर्दै उनले भनेका छन्, ‘यस अवसरले नेपाली भाषाप्रति माया, साहित्यप्रति सम्मान, र संस्कृतिप्रति गौरवको भावना अझ सुदृढ बनाओस्। हामी सबैले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने संकल्प लिनुपर्छ।’

भानुभक्तको योगदानले नेपाली भाषा मात्र हैन, नेपाली पहिचान जोगाउने मार्ग पनि देखाएको प्रदेश प्रमुखको भनाइ छ। साथै उनले सबैलाई भानुभक्तप्रति श्रद्धा व्यक्त गर्दै साहित्यिक मार्गमा अघि बढ्न आग्रह गरे ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.