मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ स्थित शारदा माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत सफलता प्राप्त गर्दै विद्यालयको शैक्षिक उत्कृष्टताको नयाँ कीर्तिमान बनाएको छ। उक्त अवसरमा विद्यालयले मंगलबार भव्य विजय उत्सव कार्यक्रमको आयोजना गरेको छ।
विद्यालयका कूल २५ जना विद्यार्थीले एसईई परीक्षामा सहभागी भई सबैले श्रेणी प्राप्त गर्दै उतिर्ण भएका छन्। सो अवसरमा विजय र्याली निकालिएको थियो । जुन विद्यालय प्रांगणबाट सुरु भई सिमलटार, भालुखोला हुँदै पुनः विद्यालयमै समापन गरिएको हो । र्यालीमा विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीयबासीसहितको उत्साहजनक उपस्थिति रहेको थियो।
विजय उत्सवको अवसरमा एसईईमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको थियो । सबैभन्दा उच्च अंक ल्याउने विद्यार्थीलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो भने अन्य सबै उत्तीर्ण विद्यार्थीहरूले जनही ३ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो ।
त्यस्तै, सो अवसरमा हेटौँडा स्कूल अफ म्यानेजमेन्ट अफ साइन्सका पुरन बहादुर जोशीले सफल विद्यार्थीहरूलाई थप प्रोत्साहन स्वरूप जनही २ हजार पाँच सय रुपैयाँ नगद सहयोग गर्ने घोषणा गरेका छन् ।
उक्त कार्यक्रममा विद्यालयमा अध्यापन गराइरहेका शिक्षक–शिक्षिकाहरूलाई समेत सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्यातान प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदन लामिछाने, विद्यालय सल्लाहकार विदुर हुमागाई, गढी–५ का वडाध्यक्ष दिपेश दहाल, यतिराज सापकोटा, यज्ञप्रसाद तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।

















