हेटौँडामा करेन्ट लागेर एकै परिवारका तीन जना घाइते, एकको अवस्था गम्भीर

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७, नागस्वती शान्तिटोलमा आज साँझ करेन्ट लागेर एकै परिवारका तीन जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा हेटौँडा–७ निवासी अन्दाजी ४६ वर्षीय सञ्चय कुमार पुडासैनी, उनकी श्रीमती ४४ वर्षीया लक्ष्मी पुडासैनी र एक वर्षीया नातिनी श्रियाना पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, साँझ पौने ६ बजेको समयमा विद्युतको पोलमा मर्मत कार्य गरिरहेका कर्मचारीको लापरबाहीका कारण विद्युतको तार अचानक भुइँमा खस्दा त्यहीँबाट हिँडिरहेका उनीहरुलाई करेन्ट लागेको हो ।

घाइतेमध्ये सञ्चय कुमारको दुबै गोडा जलेर अवस्था गम्भीर रहेको छ र उनी बोल्न नसक्ने अवस्थामा रहेका छन् । यस्तै, उनका श्रीमती लक्ष्मी पुडासैनी र नातिनी श्रियानाको हात तथा गोडा जलेर मध्यम घाइते छन् ।

घटनापछि घाइतेहरूलाई उपचारका लागि तत्काल हेटौँडा अस्पताल लगिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि साँझ ७ बजे चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

उक्त घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी चौकी हरियालीबाट प्रहरी टोली घटनास्थलमा खटिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.