हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१६ गौरीटारस्थित एक गाईगोठभित्र जुवा खेलिरहेका ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजेर ४५ मिनेटको समयमा गौरीटार रंगशाला नजिक दामोदर चौलागाईको गाईगोठमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । पैसाको हारजित हुने गरी तास खेलिरहेका बेला प्रहरीले उनीहरूलाई रंगेहात पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा ४५ वर्षीय दामोदर चौलागाई, २९ वर्षीय बिश्व स्याङ्तान, २९ वर्षीय सुदिप पोख्रेल, २९ वर्षीय प्रदिप ओझा र ५२ वर्षीय बहादुर थिङ रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ७ बुक तास, नगद र ८१ हजार ३९० र गोट्टीसहितको काठको लुडोसमेत बरामद गरेको छ ।
पक्राउ परेकाहरूमाथि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद अनुमति लिई जुवा सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

















