मकवानपुर । मकवानपुर जिल्लामा पछिल्लो २४ घण्टाभित्र चट्याङले दुई छुट्टाछुट्टै ठाउँमा क्षति पुर्याएको छ। चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने एक व्यक्ति गम्भीर घाइते भएका छन्।
हिजो बुधबार अपराह्न साढे ४ बजेको समयमा कैलाश गाउँपालिका–९, थामलेकमा १४ वर्षीय कान्छा गोले चट्याङको चपेटामा परी घटनास्थलमै ज्यान गुमाएका छन्। घर बाहिर खाटमा बसेको अवस्थामा अचानक परेको चट्याङ लागेर उनको तत्कालै मृत्यु भएको खबर आज मात्र थाहा पाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
त्यस्तै, आज साँझ ५ बजेको समयमा बागमती गाउँपालिका–२, देउराली गाउँका ३२ वर्षीय कृष्ण बहादुर श्रेष्ठ आफ्नै घरमा बसिरहेका बेला चट्याङको झिल्काले लाग्दा गम्भीर घाइते भएका छन् । उनको कम्मर मुनिको भाग नचल्ने अवस्थामा रहेको र बोल्न सक्ने अवस्थामै रहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, घाइते श्रेष्ठको उपचार राईगाउँ स्वास्थ्य चौकीमा भइरहेको छ । चट्याङले श्रेष्ठको घरसहित छिमेकी कमलजंग रानामगरको जस्ताले छाएको ईटाको एकतले घरमा समेत आंशिक क्षति पुर्याएको छ।
घटनाको जानकारी पाउने बित्तिकै प्रहरी चौकी शिवराईगाउँ र इलाका प्रहरी पोष्ट नामटारबाट टोली खटिएको थियो। दुबै घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
लगातारको चट्याङ र प्राकृतिक प्रकोपले स्थानीय बासिन्दा त्रसित छन्। प्रभावित परिवारले राहतको लागि आग्रह गरेका छन् भने स्थानीय तहलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।















