मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सहकारी क्षेत्रको चुनौती र कमीकमजोरीलाई चिर्दै संविधान र कानुन प्रदत्त अधिकारको उपयोगसहित सहाकारीहरुले आमजनताको जीवनस्तर उकास्ने अभियानको सारथी बन्नुपर्ने बताएका छन् ।
शनिबार नवजीवन सहकारी संस्थालिमिटेडद्वारा आयोजित बिचार गोष्ठी कार्यक्रममा बोल्दै प्रदेश प्रमुख देवकोटाले यस्तो बताएका हुन् । नेपालको संविधानले सरकारी, सहकारी र नीजि क्षेत्रलाई अर्थतन्त्रको तीन खम्बाको रुपमा उल्लेख गरेर सहकारी क्षेत्रको बिस्तार र प्रर्वद्धनमा जोड दिएको बताउँदै उनले सहकारीलाई जिम्मेवार बन्न समेत आग्रह गरे ।
‘सहकारी सहकार्य हो, यो समूह र त्यसभित्रका व्यक्तिहरुको उत्थानमा क्रियाशिल संस्था हो, सहकारी एकताको अनुपम उदाहरण हो’ उनले भने । समूहले व्यक्तिलाई उत्थान गर्नुपर्दछ र गर्न सकिन्छ भन्ने उदाहरण नवजीवन सहकारीले दिएको उनले बतमए ।
सडक दुर्घटनाको आलो घाउले रन्थनिएको एउटा बेसहारा बालकलाई देवकोटा सहितको समूहले उपचारमा गरेर नयाँ जीवन दिएपछि यो सहकारीको परिकल्पना गरिएको थियो । वि.स २०४८ सालको उक्त घटनाबाट पाठ सिक्दै २०५० मा सहकारी दर्ता गरिएको उनले स्मरण गरे ।
‘मानिसले सफलता देख्छन् र सफलतामा हातेमालो गर्छन् तर संघर्ष धेरैलाई थाहा हुदौन’ उनले भने । नवजीवन सहकारी संस्थाले सुदूरपश्चिम र लुम्बिनीका जनतामा आर्थिक क्रियाशीलता अभिवृद्धि गरि जीवनस्तर उकास्न सफल भएको उनले बताए । सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई सर्वोपरि राखेर अघि बढेको हुनाले नै इतिहासका कुनै कालखण्डले नवजीवनलाई बिचलित नपारेको उनले बताए ।
व्यक्तिगत र पारिवारिक ढङ्गले सञ्चालन गरिएका र केही बदमास नियतकाले नेतृत्व गरेका सहकारीहरूको कारण अहिले सहकारी अभियानमा हिलो छ्याप्न खोजेकोले सचेत हुनुपर्ने उनले बताए । ‘नकारात्मकताको बिउ रोपेर सकारात्मकता उम्रन सक्दैन, त्यसैले केही छिटपूट बदनियतलाई समग्र सहकारी जगतको बदनामीमा जोड्नु घोर अन्याय हुने उनले बताए ।
सुर्केथैली, बाकस अनि पटुकीमा पोको पारेका निम्न आय समूहका पैसा जनताको बैङ्क सहकारीले सहकार्यमा परिचालन गरेको बताउँदै उहाँले भन्नुभयो ‘त्यत्तिकै निस्क्रिय रहेको पैसा अण्डा दिने कुखुरा जस्तै भएको छ, यो खुशीको कुरा हो’ सहकारीले बित्तिय साक्षरतामा अझै जोड दिएर आमसमुदायलाई सहकारीमा जोड्नु पर्ने उनले बताए।















