मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ वर्षले समृद्ध देश निर्माणमा अघि बढ्न मार्गदर्शन गर्ने बताएका छन् । प्रदेश प्रमुख देवकोटाले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सो कुरा बताएका हुन् ।
जारी सन्देशमा प्रदेश प्रमुख देवकोटाले प्रदेश, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गरेका छन् ।
प्रदेश प्रमुख देवकोटाले भनेका छन्, “नयाँ वर्ष भित्तेपात्रो फेरिने विषयमा मात्र सीमित नरही आम नेपालीको जीवनस्तर सुदृढ हुने गरी नेपालीको ओठमा मुस्कान लिएर आउनेछ भन्ने अभिलाषा लिएको छु ।’’
“यो वर्षले उत्साह र कर्मशीलता बोकेर हामी सबैलाई सभ्य र अनुशासित बनाई संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन प्रेरणा दिने अपेक्षा राखेको छु ।’’ शुभकामना सन्देशमा उल्लेख छ ।
विश्व परिवेशमा आएको उतारचढावले आत्मनिर्भर बन्न, स्वदेशी उत्पादनको प्रयोगमा जोड दिएर आयातलाई कम गर्दै निर्यातमुखी अर्थतन्त्रको दिशामा अघि बढ्न मौका र चुनौती थपेको देवकोटाले उल्लेख गरे ।
सकारात्मक सोच राखेर मात्र नहुने र यसको लागि सकारात्मक कार्य गर्नुपर्ने उनको भनाई छ ।

















