हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले स्वास्थ्यमा नागरिकको सहज पहुँच प्रदेश सरकारको विशेष प्राथमिकता रहेको बताएका छन् । सिन्धुलीको तीनपाटन गाउँपालिकामा नवनिर्मित नगर अस्पताल भवन उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले यस्तो बताएका हुन् ।
शिक्षा, स्वास्थ्यजस्ता विषयलाई संविधानले नै नागरिकका मौलिक अधिकारको रूपमा ग्यारन्टी गरेको भन्दै उनले प्रदेश सरकार मौलिक अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न तत्पर रहेको बताए ।
‘रोगमुक्त समाज, निरोगी नागरिक बनाउन प्रदेश सरकारले काम गरिरहेको छ । कुनै नवजात शिशु कुपोषणको शिकार नबनुन्, उमेरजन्य कारणले लाग्ने दीर्घ रोगहरू जस्तै: सुगर, प्रेसर, बाथ, युरिक एसिड, थाइराइडलगायत असाध्य रोग लागेका नागरिकलाई सहज र सरल सेवा दिन सकियोस् भनेर प्रदेश सरकार काम गरिरहेको छ ’, मुख्यमन्त्रीले भने ।
गणतन्त्र गरिबको व्यवस्था हो भन्दै उनले मुलुकमा लाभको अवस्थामा रहेको युवा शक्तिलाई प्रविधिमैत्री बनाउँदै रोजगारी सिर्जना गरिने बताए ।
मुलुकभित्रै केही भएन भन्दै असन्तोषको खेती भइरहेको चर्चा गर्दै मुख्यमन्त्री बानियाँले त्यसलाई चिर्दै भइरहेका विकासका कामलाई नागरिकसमक्ष पुर्याउन लागिपर्नु पर्ने बताए ।
विकासका पूर्वाधारसँगै नागरिकलाई अर्थोपार्जन गर्ने सीप विकास र लगानीसमेत दिनुपर्ने काममा प्रदेश सरकार लागि परेको बताए । ‘बाटो बनाइदिएर मात्र भएन, खल्तीमा नोट कसरी आउँछ भनेर उनीहरूलाई सीप र पूँजीको व्यवस्थासमेत गरिदिनुपर्ने हुन्छ, हामी त्यसतर्फ अग्रसर छन् ’, मुख्यमन्त्रीले भने ।

















