हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालयको संख्या नबढ्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पदभार ग्रहण पछि सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री बानियाँले मन्त्रालयको संख्या बढ्ने अवस्था नरहेको बताएका हुन् ।
संविधान अनुसार २२ वटा मन्त्रालय बनाउन सकिने भएतापनि संविधान संशोधन मार्फत् प्रदेशको मन्त्रालय घटाउनुपर्ने उनको भनाई छ । मुख्यमन्त्री बानियाँले संविधानको व्यवस्थाको प्रयोग गरेर धेरै सांसद्हरु मन्त्री हुँदा प्रदेशको गौरव घटेको पनि जिकिर गरे ।
जनता प्रति निष्ठावान र इमानदार भएर वर्तमान सरकारले काम गर्ने उहाँले दाबी गरे । मुख्यमन्त्री बानियाँले प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्ने समेत प्रतिबद्धता व्यक्त गरे । विगतमा बोल्ने मात्र काम धेरै भएकोले अब गर्ने कुरा सुरु हुने समेत उनले बताए ।
नवनियुक्त मुख्यमन्त्री बानियाँले प्रदेश सभाबाट प्राप्त संकल्प प्रस्तावमा उल्लेखित विषयहरूमा पहिलो निर्णय गरेका गरेको छ । जसमा आर्थिक मितव्ययिता कायम राख्ने, सुशासन कायम राख्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र बजेट प्रणालीलाई जनमुखी बनाउने विषयहरू रहेका छन् ।
बाँकी रहेका प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालय, सहकारी मन्त्रालय, खेलकुद र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा भने मन्त्री पछि केहि समयमै नियुक्त गरिने मुख्यमन्त्री बानियाँले जानकारी दिए ।















