हेटौँडा । बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस मनाइएको छ । आइतबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख अतिथ्यतामा उक्त दिवस मनाइएको हो ।
सो क्रममा बोल्दै मुख्यमन्त्री लामाले विश्वविद्यालयले व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिए । उनले प्रदेश गौरवको आयोजनाको रुपमा रहेको विश्वविद्यालयलाई आवश्यक बजेट व्यवस्था गर्ने र विश्वविद्यालयले अगाडि सारेका कार्यहरु सहयोग गर्ने एवम् आङ्गिक क्याम्पस बनाउनेबारे छिट्टै निर्णय लिइने विश्वास लिएको बताए ।
यस्तै, सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले प्रदेश विश्वविद्यालयको आवश्यकता औचित्यका बारेमा मन्तव्य राख्दै उच्च शिक्षा प्रदेश सरकारको एकल अधिकारको क्षेत्र भएको बताए ।
उक्त कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगर प्रमुख मिना कुमारी लामाले विश्वविद्यालयलाई आवश्यक सहयोग गर्न र जग्गा उपलव्ध गर्न नगरपालिका प्रतिबद्ध रहेको बताइन् ।
कार्यक्रममा बागमती प्रदेश विश्वविद्यालयका डिन डा. गंगाराम विश्वकर्माले सबै अतिथिहरुलाई स्वागत गर्दै मन्तव्य राख्नु भएको थियो भने विश्वविद्यालयको वार्षिक कार्य प्रगति विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका माननीय सदस्य गुणराज मुक्तान, बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ, संरक्षण समितिका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेललगायत मन्तव्य व्यक्त गरेकाथिए ।

















