हेटौंडा । संयुक्त विद्यार्थी संगठनले हेटौंडा उपमहानगरपालिकाको शिक्षा शाखालाई विभिन्न शैक्षिक समस्याप्रति ध्यानाकर्षण गराउँदै मागपत्र बुझाएको छ। संगठनले आइतबार उपमहानगरको कार्यालय पुगी उप प्रमुख राजेश बानियाँलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
संगठनले पछिल्लो समय विभिन्न आन्दोलन तथा मुद्दामार्फत विद्यार्थीहरूको आवाज उठाउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सक्रिय रहने जनाएको छ। हेटौंडा उपमहानगरपालिका अन्तर्गत कक्षा १ देखि १२ सम्म सञ्चालन भइरहेका विद्यालयहरूले शिक्षा ऐन २०७४ तथा प्रचलित शैक्षिक नियमहरूको पूर्ण पालना नगरेको भन्दै संगठनले गम्भीर ध्यानाकर्षण भएको बताइएको छ।
मागपत्रमार्फत संगठनले मुख्य रूपमा शिक्षक योग्यता, छात्रवृत्ति व्यवस्थापन, विद्यार्थी सहुलियत तथा शुल्क व्यवस्थापन सम्बन्धी विषय उठाएको छ। संगठनले आवश्यक योग्यता नपुगेका शिक्षकबाट पढाइ भइरहेको भन्दै त्यस्ता शिक्षकलाई तत्काल हटाई आवश्यक कारबाही गर्न माग गरेको छ।
त्यस्तै, १० प्रतिशत छात्रवृत्ति सम्बन्धी परीक्षा उपमहानगरपालिकाले नै सञ्चालन गर्नुपर्ने र सबै विद्यालयले अनिवार्य रूपमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने माग गरिएको छ। यसैगरी, उपमहानगरभित्रका विद्यार्थीहरूले पाउनुपर्ने सबै प्रकारका सहुलियत तथा छुटहरू तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ।
निजी तथा सामुदायिक विद्यालयहरूले विभिन्न शीर्षकमा लिने अस्वाभाविक शुल्कहरू खारेज गर्न र शुल्क सम्बन्धी स्पष्ट मापदण्ड तयार गरी कार्यान्वयन गर्न पनि माग गरिएको छ। संगठनले मागहरू यथाशीघ्र सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको छ।
उक्त मागपत्रमा नेपाल विद्यार्थी संघको तर्फबाट सागर घिमिरे, अखिल क्रान्तिकारीका छोईसाङ्ग स्याङ्तान र अनेरास्ववियुका नवराज पौडेल लगायतका विद्यार्थी नेताहरूले हस्ताक्षर गरेका छन्।

















