अटिजम भएका बालबालिकाका अभिभावकसँग अन्तरक्रिया

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित सेन्टर फर अटिजमले अटिजम भएका बालबालिकाका अभिभावकसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । विश्व अटिजम दिवसको अवसरमा छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम हरिकृष्ण मैनालीको सभाध्यक्षता तथा अपाङ महासंघ बागमती प्रदेशका सदस्य बद्री विक्रम थापाको प्रमुख आतिथ्यतामा भएको हो । अभिभावकको सक्रियतामा चार वर्षअघि स्थापना गरिएको सो सेन्टरमा हाल ३२ जना बालबालिका अध्ययनरत रहेका छन् ।

आफ्ना सन्तानको भविष्यप्रति चिन्ता र जिम्मेवारी बोध गर्दै तीन जना अभिभावकको पहलमा सुरु भएको सेन्टर अहिले अभिभावककै सहयोगबाट सञ्चालन भइरहेको संस्थाकी सचिव अस्मिता कालिकाले जानकारी दिइन् । उनका अनुसार, सेन्टरमा बालबालिकाको बौद्धिक तथा समग्र विकासका लागि व्यवहारिक सिकाइ, डे–केयर सेवा, स्पिच थेरापी, बिहेव्यर थेरापी, अकुपेशनल थेरापी तथा अभिभावक–शिक्षक काउन्सिलिङ जस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् ।

साथै फिजियोथेरापी, योग तथा ध्यान अभ्यास समेत गराइन्छ भने बालबालिकालाई दैनिक जीवनमा आवश्यक सीप जस्तै आफैं खाना खाने, कपडा लगाउने, सरसफाइ गर्ने र नियमित दिनचर्या पालना गर्ने अभ्यास, सञ्चार सीप विकासका लागि शब्द उच्चारण, संकेत मार्फत संवाद, चित्र तथा कार्ड प्रयोग गरी बुझ्ने र अभिव्यक्त गर्ने अभ्यास गराइने गरिएको छ ।

त्यसैगरी, आधारभूत लेखाइ–पढाइ, रंग र आकार छुट्याउने, खेलमार्फत सिकाइ, समूहमा घुलमिल हुने तथा अनुशासन पालनाजस्ता गतिविधि पनि सञ्चालन भइरहेका जनाइएको छ ।

हाल उक्त सेन्टरमा १६ जना तालिमप्राप्त शिक्षक र २ जना थेरापिस्ट कार्यरत रहेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.