मकवानपुरमा सवारी दुर्घटना हुँदा तीन जना घाइते

मकवानपुर । मकवानपुरमा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर तीन जना घाइते भएका छन् । जिल्लाको इन्द्रसरोवर गाउँपालिका र मनहरी गाउँपालिकामा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर तीन जना  घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, जिल्लाको इन्द्रसरोवर गाउँपालिका–४ स्याउलीबजारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । हिजो सोमबार साँझ फाखेल–हुमाने सडकखण्डमा पुरण्डीबाट राकसखोला तर्फ जाँदै गरेको बा ३१ प ४४०० नम्बरको मोटरसाइकल ओरालोमा अनियन्त्रित भई सडकको बायाँ साइडको नालीमा खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक इन्द्रसरोवर–४ राकस खोला बस्ने ५५ वर्षीय रामबहादुर गोले र पछाडि सवार  उनकी श्रीमती ५० वर्षीया सङ्गीता गोले घाइते भएको हुन् ।

घाइते दुवै जनाको दाहिने खुट्टा, अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नान्तीराज गुरुङले बताए । घाइते उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरी चौकी फाखेलको नियन्त्रणमा राखिएको छ ।

त्यस्तै, मनहरी गाउँपालिका–८ भलादमी चोकमा ज्यामिरेबाट मनहरीतर्फ आउँदै गरेको ना २ ह ५०७१ नम्बरको अटोलाई सोही दिशातर्फबाट आउँदै गरेको प्रदेश २–०३–०१२ प ८७६४ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । सो दुर्घटनामा अटोमा सवार मनहरी–९ ज्यामिरे बस्ने ७ वर्षीय आवास प्रजा घाइते भएका छन् । बालकलाई मनहरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनको पुष्पाञ्जली अस्पताल रिफर गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले अटो चालक मनहरी–९ ज्यामिरे बस्ने ३८ वर्षीय रामशरण मोक्तानलाई नियन्त्रणमा लिएको छ भने दुर्घटनास्थलमै मोटरसाइकल छाडेर फरार भएका मोटरसाइकल चालकको खोजीकार्य गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.