मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम सडकखण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार (आज) बिहान करिब ५:०५ बजे हेटौंडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई नेवारपानीतर्फबाट हेटौंडातर्फ आउँदै गरेको ट्रकले ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–१ निवासी २२ वर्षीय संजित स्याङतान र पछाडि सवार सोही स्थानका १८ वर्षीय अमोश थिङ गम्भीर घाइते भएका थिए। प्रहरीका अनुसार उनीहरुलाई तत्काल उपचारका लागि चुरेहिल अस्पताल हेटौंडा लगिएकोमा उपचारकै क्रममा बिहान ५:५२ बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न ट्रकको नम्बर प्रारम्भमा नखुलेको भए पनि अनुसन्धानका क्रममा ग २ ख ८९८ नम्बरको ट्रकलाई पर्साको वीरगञ्ज महानगरपालिका–१३ पर्तिमाचोकस्थित एक ग्यारेजबाट प्रहरीले नियन्त्रणमा लिइएको छ। ट्रक चालक बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–३ निवासी ३६ वर्षीय अनिल साहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय नेवारपानीबाट करिब ५ किलोमिटर पूर्वमा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
















