मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पराजुलीले आफु रास्वपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेको सामाजिक सञ्जालमार्फत् घोषणा गरेका हुन् ।
रास्वपा मकवानपुरले आज हेटौंडा उपमहानगरपालिका–४, स्थित हुप्रचौरमा सभा आयोजना गरिरहँदा सभापति पराजुली सर्लाही पुगेर काँग्रेस प्रवेश गरेका हुन् । पराजुलीलाई नेपाली काँग्रेस सभापति गगनकुमार थापाले सर्लाहीमा काँग्रेस प्रवेश गराएका हुन् ।
पराजुलीसहित रास्वपा मकवानपुरका नेताहरू आइतबार राति नै सर्लाही पुगेका थिए । काँग्रेस सभापति थापासँगको भेटपछि पराजुलीले पार्टी नेतृत्व शैलीमाथि प्रश्न उठाउँदै पार्टी परित्याग गरेको सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।
मनहरी गाउँपालिका घर भएका पराजुली ३० वर्ष राजनीतिक जीवन बेतित गरेको पुरानै पार्टी नेपाली काँग्रेसमा फर्किएका छन् । २०८१ मंसिर ६ मा भएको पार्टीको पहिलो जिल्ला भेलाबाट सर्वसम्मत रुपमा पुनः सभापति चयन भएका थिए । काँग्रेस छोडेर उनले रास्वपा मकवानपुरको नेतृत्व लिन पुगेका थिए ।
















