हेटौंडा । हेटौंडाका २७ जनता स्वतन्त्र युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार बिहान हेटौंडा १० मा भएको कांग्रेसको कार्यक्रमबाट उनीहरु पार्टी प्रवेश गरेका हुन् ।
कांग्रेस प्रवेश गर्नेमा सुजन खड्की, रविन देउला, अनिल थापा, रितेश श्रेष्ठलगायतका स्वतन्त्र युवाहरु रहेका छन् । कांग्रेस वडा सभापति एवम् निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका युवराज लामाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका निवर्तमान केन्द्रीय सहमहामन्त्री एवम् मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले उनीहरुलाई कांग्रेसमा स्वागत गरेका हुन् ।
कांग्रेसलाई जिताउने अभियानमा युवाहरु सामेल भएको भन्दै वडा सभापति लामाले खुसी व्यक्त गरे । कार्यक्रममा कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार सर्मिला श्रेष्ठ, जिल्ला सदस्य ताराकुमारी राई, नेपाल तरुण दल जिल्ला सदस्य नितेश लामालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपाध्यायले जेनजी, महिला र आम मकवानपुरेले खोजेको जस्तो उम्मेदवार आफू भएको बताइन् ।
समृद्ध मकवानपुर बनाउने अभियानका लागि रुख चिन्हमा मतदान गर्न उनले आग्रह गरिन् । कार्यक्रममा कांग्रेस मकवानपुरका पदाधिकारीसहितका नेताहरुको आतिथ्यता रहेको थियो ।

















