हेटौंडा । हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरको १६ औं वार्षिकोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन रेडियो मकवानपुरकै प्राङ्गण हेटौंडा २ पल्पसाहल रोडमा रक्तदानको आयोजना भएको हो ।
रक्त सञ्चार केन्द्र हेटौंडाको सहकार्यमा भएको कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । रेडियोको वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष माघ १६ देखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना हुँदै आएको छ ।
कार्यक्रममा रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली, स्टेसन म्यानेजर गणेशदर्पण अधिकारी, पत्रकार महासंघ मकवानपुरका सचिव केशव समर्पण सुवेदी, दिव्यतारा बहुउद्देश्यीय सहकारीका सचिव ईश्वर पण्डित, मकवानपुर उद्योग वाणिज्य संघका सचिव कुलप्रसाद चौलागाइँ, रक्त सञ्चार केन्द्रका विष्णु रिमाललगायतको उपस्थिती थियो । रक्तदान जीवन दान भन्ने नारासहित पवित्र कार्यबाट सप्ताहव्यापी कार्यक्रमको सुरुवात गरिएको रेडियो सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले बताए ।
१७ गते शनिबार हेटौंडा १८ हर्नामाडीमा रहेको श्री वैदिक संस्कृत गुरुकुलमलाई खाद्यान्न वितरण, १८ गते महिला पत्रकारहरुको संस्था सञ्चारिका समूहलाई सेनेटरी प्याड सहयोग, १९ गते रेडियोमै निर्वाचन आचारसंहिता सम्बन्धि अन्तर संवाद, २० गते मिडिया कप फुटसल प्रतियोगिता र २२ गते सप्ताहव्यापी कार्यक्रमको समापन हुनेछ । सप्ताहव्यापी कार्यक्रमको समापनमा मकवानपुरका २ जनालाई जनही नगद १० हजार रुपैयाँसहित सामुदायिक सम्मान समेत प्रदान गरिनेछ ।
रेडियो मकवानपुरले वार्षिकोत्सवमा २ जनालाई सामुदायिक सम्मान र हरितालिका तीजको अवसरमा २ महिलालाई जागरुक महिला सम्म्मान प्रदान गर्दै आएको छ । २०६६ साल माघ १६ गते सहिद दिवसका दिनबाट रेडियो मकवानपुरले नियमित प्रशारण सुरु गरेको थियो ।















