हेटौंडा । रोटर्याक्ट क्लव अफ मकवानपुरले विद्यार्थीलाई न्यानो कपडा सहयोग गर्ने उद्येश्यका साथ चिया संगीत कार्यक्रमको आयोजना गरेको छ । युवाहरुको संस्था रोटर्याक्टले शुक्रबार हेटौंडास्थित चियालयमा चिया संगीत कार्यक्रमको आयोजना गरेको हो । ‘चियासंग गीत, चिया संगीत’ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा रोटर्याक्ट क्लव अफ मकवानपुरका सदस्य समेत रहेका गायक जोन सेन्चुरीले सांगीतिक प्रश्तुती दिएका थिए । उनले पछिल्लो समय पुस्तामाझ चर्चित करिब एक दर्जन गीतहरु प्रश्तुत गरेका थिए । रोटर्याक्ट क्लव अफ मकवानपुरका अध्यक्ष अमितकुमार क्षेत्रीले कार्यक्रमबाट संकलन भएको रकमले विद्यार्थीलाई न्यानो कपडा वितरण गरिने बताए ।
उनका अनुसार कार्यक्रममा राखिएको सहयोग बक्समा ९ हजार रुपैयाँ संकलन भएको छ । ‘हामीले शिक्षा, स्वास्थ्य, वातावरणसहित युवाको विविध क्षेत्रमा काम गरिरहेका छौं’, अध्यक्ष क्षेत्रीले भने, ‘यो कार्यक्रमबाट संकलन भएको रकम विद्यार्थीको न्यानो कपडाका लागि सदुपयोग गर्नेछौं ।’ रोटर्याक्ट क्लव अफ मकवानपुरका सचिव जमुना थापाले कार्यक्रमका लागि सबैको सहयोग प्राप्त भएकोमा खुसी व्यक्त गरिन् ।
कार्यक्रममा रोटरी क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, पूर्व अध्यक्षहरु विजयलाल श्रेष्ठ, कृष्णबहादुर कार्की, कविन सांगामी, रामेश्वर श्रेष्ठ, रोटर्याक्ट क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, पूर्व अध्यक्ष प्रदीपकुमार राई, राजन कटुवाल, निवर्तमान अध्यक्ष सृजना लामिछाने लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा जोन सेन्चुरीसहित अन्य व्यक्तिहरुले गीत र कविता सुनाएका थिए ।


















