हेटौंडा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा निर्वाचन प्रहरी बन्नका लागि मकवानपुरमा २ हजार २६० जनाले आवेदन दिएका छन् । आसन्न निर्वाचनका लागि मकवानपुरमा १ हजार ९२३ जना निर्वाचन प्रहरी भर्नाको कोटा रहेको छ ।
निर्वाचन प्रहरीका लागि ४९ वर्षीया एक महिलाले पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आवेदन दिएकी छिन् । ४ सन्तानकी आमा सुन्तली थिङले गाउँमा आम्दानीको अन्य स्रोत नभएपछि नूनतेल र बालबच्चाको पढाइ खर्चका लागि निर्वाचन प्रहरीमा आवेदन दिएको जानकारी दिएकी छिन् । कक्षा ८ सम्म पढेकी थिङ महिलातर्फ निर्वाचन प्रहरीमा आवेदन दिने जेठी महिला हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले अब आवेदन दिएकाहरुको छनौट प्रक्रिया सुरु गरिने जानकारी दिए । ‘आवेदन दिने समय सकिएको छ । निर्वाचन प्रहरी बन्न आवेदन दिएकाहरुको छनौट प्रक्रिया सुरु गर्नेछौं’, बोगटीले भने ।


















